थाइल्याण्ड-कम्बोडिया तनावः १ लाख बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो



एजेन्सी,साउन ९ । थाईल्यान्ड र कम्बोडियाबीच विवादित सीमामा शुक्रबार दोस्रो दिन पनि गोली हानाहान भएको छ।

पछिल्ला भिडन्तहरूमा हालसम्म कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ भने १ लाखभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको दुवै देशका अधिकारीहरूले पुष्टि गरेका छन् ।

सीमावर्ती क्षेत्रमा महिनौँदेखि तनाव बढिरहेको थियो। करिब ८०० किलोमिटर लामो भूमि सीमा (५०० माइल), जसको सिमा नक्सा फ्रान्सको उपनिवेशकालमा बनाइएको थियो, अहिले विवादको मुख्य विषय बनेको छ। सीमा आसपास रहेका पुरातात्विक महत्त्वका धार्मिक स्थलहरूलाई दुवै देशले आफ्नो दाबी गर्दै आएका छन्।

उबोन राचाथानी प्रान्तका दुई स्थान र सुरिन प्रान्तमा भिडन्त भइरहेकाे र कम्बोडियाबाट ठूलो मात्रामा भारी हतियार र रकेट आक्रमण भएको थाई सेनालाई उल्लेख गर्दै बीबीसीले लेखेकाे छ ।

.थाईल्यान्डले बिहीबार आफ्नो सैन्य विमान एफ १६ प्रयोग गरी कम्बोडियाको केही ‘सैन्य लक्ष्यहरू’ माथि बमबारी गरेको बताएको छ। सेनाले ड्रोनद्वारा कम्बोडियाको वन क्षेत्र नजिकका लक्ष्यहरूमा बम खसालिएको भिडियो समेत सार्वजनिक गरेको छ।

उक्त प्रान्तबाट करिब ४ हजार मानिस विस्थापित भइसकेको र धेरै मानिस रातको समयमा घर छोडेर गाडीमा समान हालेर टेन्टमुनि रात बिताइरहेका दृश्यहरू सार्वजनिक भएका छन्।

थाई गृह मन्त्रालयका अनुसार बिहीबार रातिसम्म १ लाखभन्दा बढी नागरिकलाई अस्थायी शिविरमा सारिएको छ। सुरिन प्रान्तका युनिभर्सिटीमा आश्रय लिएका मानिसहरू प्लास्टिक कन्टेनरमा खाना खाँदै म्याटमा सुतेको दृश्यहरू देखिएका छन्।

भिडन्तको सुरुवात बुधबार पाँच जना थाई सैनिकहरू भूमिगत बारुदमा परेर घाइते भएपछि भएको थियो। यसको केही समयअघिदेखि तनाव चुलिँदै आएको थियो। मे महिनामा इमरल्ड ट्रायाङ्गल क्षेत्रमा भएको झडपमा एक कम्बोडियन सैनिकको मृत्यु भएको थियो।

थाईल्यान्ड र कम्बोडिया बीच सहयोग र प्रतिस्पर्धा दुबै देखिँदै आएको छ। यद्यपि, थाईल्यान्डको सेनाको जनशक्ति र हतियार बल कम्बोडियाको तुलनामा निकै अगाडि छ।

दुबै देशसँग चीनसँग पनि नजिकको सम्बन्ध रहेकाले अमेरिका, जापान र चीन दुवैले अहिले स्थिति शान्त गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्