विदुर नगरपालिकामा पुष्पखेती प्रर्वद्धन : सयपत्री र मखमली फूलको व्यावसायिक खेती सुरु
विदुर, साउन ९ । विदुर नगरपालिकाले पुष्पखेतीलाई प्रोत्साहन गर्दै वडा नं. ९ स्थित वडा कार्यालय परिसरमा रहेको ६ रोपनी नगरपालिकाको जग्गामा सयपत्री र मखमली फूलको व्यावसायिक खेती सुरु गरेको छ।
नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालित “पुष्पखेती प्रर्वद्धन कार्यक्रम” अन्तर्गत शुक्रबारबाट फूल रोप्ने कार्य थालिएको हो। यान्त्रिकरणको प्रयोग गरी ड्याङ निर्माण गरिने र मल्चिङ प्रविधिको प्रयोगमार्फत ९ हजारभन्दा बढी फूलका विरुवा रोपिने नगरपालिकाले जनाएको छ।
कार्यक्रमको शुभारम्भमा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडा नं. १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं. ८ का अध्यक्ष कमल श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष हरेराम भण्डारी, वडा नं. १२ का अध्यक्ष उपिन्द्र खड्का, विषयगत शाखाका कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।
नगरपालिकाले उत्पादन हुने फूलहरूलाई तिहारलगायत चाडपर्वमा व्यावसायिक रूपमा बजारमा विक्री गर्ने लक्ष्य लिएको छ। यस अभियानमार्फत नगरले कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने आशा गरिएको छ।

