प्रदेशमा राजनीतिक तरङ्ग : तरुण दल नेता गुरुङको सुझाव — “प्रदेश र समानुपातिक प्रणाली खारेज गरौं”
काठमाडौँ, साउन ९ — बाग्मती प्रदेशमा हाल चलिरहेको राजनीतिक अस्थिरता र मुख्यमन्त्रीमाथि दर्ता भएको अविश्वास प्रस्तावसँगै नेपाली राजनीतिमा फेरि बहस चर्किएको छ। यसै सन्दर्भमा नेपाल तरुण दलका केन्द्रीय सदस्य संजीव गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वर्तमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाएका छन्।
गुरुङका अनुसार, बाग्मती प्रदेशको राजनीतिक परिवेश हेर्दा यो जनताको हितमा नभइ नेताहरूको व्यक्तिगत स्वार्थपूर्तिको साधन बन्न पुगेको छ। उनले भनेका छन्, “आज मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव राखिँदा कतिपय उत्साहित छन् भने केही निराश। तर राजनीतिज्ञको आँखाबाट हेर्दा यो अवस्था देश र जनताको हितमा नभई व्यक्तिवादी स्वार्थ पूर्तिको संकेत हो।”
गुरुङले बाग्मती प्रदेशको यथास्थितिलाई देशकै अन्य प्रदेशको प्रतिनिधिमूलक रूपमा प्रस्तुत गर्दै प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाएका छन्। उनले सुझाएका सुधारहरूमा प्रदेश प्रणाली खारेज गर्नु, समानुपातिक प्रणाली हटाउनु, कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनु र सानो मन्त्रिमण्डलमार्फत शासन सञ्चालन गर्नु पर्ने उल्लेख गरेका छन्।
“सानो देशमा ठूलो शासन व्यवस्था आवश्यक छैन। सानो संरचना, दक्ष नेतृत्व र स्पष्ट कार्यदिशा नै समृद्ध नेपाल निर्माणको आधार हो,” गुरुङको भनाइ छ।
उनले समृद्ध नेपालको निर्माण गर्नका लागि देशभित्रैबाट विकल्प खोजिनुपर्ने र आम नागरिकलाई राहत महसुस हुने व्यवस्था निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्।
गुरुङका अनुसार, अहिलेको अवस्थामा अस्थिरता र गुटगत राजनीति हटाएर कार्यकुशलता, जवाफदेहिता र परिणाममुखी शासन प्रणाली आवश्यक छ। उनका विचारले समसामयिक राजनीतिक परिदृश्यमाथि बहस उत्पन्न गरेको छ।

