पारामाउण्ट एकेडेमीद्वारा शिवपुरीका २४ जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण
नुवाकोट, साउन ९ — पारामाउण्ट एकेडेमीका संस्थापक प्रिन्सिपल मुकुन्द पाण्डे र उनका भाई प्रमोद पाण्डेले आफ्ना दिवंगत मातापिताको सम्झनामा शिवपुरी गाउँपालिकाका सामुदायिक विद्यालयका एसईई (SEE) मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका छन्।
शिवपुरी गाउँपालिकाभित्रका ११ वटा सामुदायिक विद्यालयबाट एसईई दिएका छात्रछात्रामध्ये उत्कृष्ट नतिजा ल्याउने प्रत्येक विद्यालयबाट २/२ जना विद्यार्थी छनोट गरिएका थिए। विशेष अवस्थामा समान अङ्क जिपिए ल्याएका थप विद्यार्थी समेत समेट्दै कुल २४ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक मुकुन्द पाण्डेले आफ्नो परिवारको सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताए। “हाम्रो आमा-बुबाको सम्झनामा योग्य विद्यार्थीलाई अवसर दिन पाउँदा गर्व लागेको छ,” उनले भने।
छात्रवृत्तिमा परेका विद्यार्थीले अब पारामाउण्ट एकेडेमीमा प्लस टु अध्ययन निःशुल्क रूपमा गर्न पाउनेछन्। छात्रवृत्तिमा शैक्षिक शुल्क मात्र होइन, पाठ्यपुस्तक, पोशाक र अन्य शैक्षिक सामग्रीसमेत समावेश हुने जनाइएको छ।
स्थानीय तह, विद्यालय प्रशासन, अभिभावक र विद्यार्थीहरूबाट यो पहलको प्रशंसा गरिएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
शैक्षिक विकासमा निजी क्षेत्रको यस्तो सहयोगले ग्रामीण भेगका प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन मिल्ने विश्वास गरिएको छ।

