नुवाकोटको लौके झर्ना सरसफाइ अभियान : पर्यटकीय आकर्षणसँगै स्वच्छताको सन्देश
नुवाकोट,साउन १० । “पर्यटकीय क्षेत्र सरसफाइ गरि आन्तरिक पर्यटन प्रबर्द्धन गरौं” भन्ने मूल नारासहित शिवपुरी गाउँपालिकाले शुक्रबार चर्चित पर्यटकीय गन्तव्य लौके झर्ना वरपरको क्षेत्र सरसफाइ गरेको छ। गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलियाको नेतृत्वमा भएको अभियानमा जनप्रतिनिधि, कर्मचारी, समितिका पदाधिकारी र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा उपाध्यक्ष वीरबहादुर तामाङ, वडा नं. ८ का अध्यक्ष केशवप्रसाद रिजाल, वडा सदस्यहरू अक्कलबहादुर तामाङ र भरतकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्साल, गाउँपालिकाका विभिन्न शाखा (कृषि, पशु विकास, शिक्षा, प्राविधिक, प्रशासन, सामाजिक सुरक्षा), लौके झर्ना संरक्षण समितिका अध्यक्ष गोपाल सिलवाल तथा सदस्य पार्वती थपलियालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
सरसफाइ कार्यक्रम सानिपिपलदेखि लौके झर्ना (ठूलो छहरे) सम्म सञ्चालन गरिएको थियो। पर्यटकहरूले यात्रा क्रममा जथाभावी फालिएका प्लास्टिक बोतल, चाउचाउ र बिस्कुटका खोल, फ्रुटीका प्याकेट, अन्य प्लास्टिकजन्य फोहोरहरू सङ्कलन गरी झर्ना क्षेत्रलाई सफा बनाइएको हो। डस्टबिनको प्रयोग नगरी फ्यालिएका फोहोरले वातावरणमा असर पारिरहेकाले यसलाई व्यवस्थापन गर्न स्थानीय तहले पहल थालेको हो।
गाउँपालिकाले लौके झर्नामा पार्किङ सुविधा विस्तार गर्ने र झर्ना जाने बाटोमा थप ग्राभेल हालेर पहुँचलाई सहज बनाउने तयारी पनि गरिरहेको छ। दैनिक हजारौं पर्यटक आवागमन हुने यो स्थानमा विशेषतः हालको सिजनमा अत्यधिक भीड देखिन्छ, जसले गर्दा पार्किङ व्यवस्थापन र सरसफाइ दुवैमा थप चुनौती आउन थालेको छ।
शिवपुरी गाउँपालिकाको यो प्रयासले स्वच्छ वातावरण, दिगो पर्यटन र स्थानीय जनचेतनाको विकासमा उल्लेखनीय योगदान गर्ने विश्वास लिइएको छ।

