पोखरा–जामुने सडक खण्डको भौतिक प्रगति ५५ प्रतिशत नाघ्यो



गण्डकी, साउन १० – पोखरा–मुग्लिन सडकखण्डको पश्चिमी भाग (पोखरा–जामुने) को भौतिक प्रगति ५५.१० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४२.५० प्रतिशत रहेको छ। ३८.८८ किमी लामो यस खण्डमा हालसम्म ३७.७ किमीमा पहिलो तहको कालोपत्र सम्पन्न भएको छ।

आयोजना प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमी सडक दुईतर्फी (चार लेन) र १०.३२ किमी एकतर्फी (दुई लेन) कालोपत्र गरिएको हो। विसं २०७८ भदौमा सुरु गरिएको निर्माण कार्यको म्याद यसअघि दुईपटक थपिएको थियो र अब पुससम्म कायम छ।

१३ मध्ये ११ वटा पुल निर्माण भइसकेका छन् भने दुई पुल निर्माणाधीन छन्। सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत तथा विजयपुर पुलको ६० प्रतिशत पुगेको छ। केवल–स्टेड प्रविधिमा निर्माणाधीन आकर्षक सिग्नेचर पुलको सब–स्ट्रक्चर सकिएको छ र सुपर–स्ट्रक्चरको काम जारी छ।

एसियाली विकास बैंकको सहयोगमा भइरहेको यो सडक स्तरोन्नति कार्य आगामी हिउँदसम्म सकिने अपेक्षा गरिएको छ। उता, पूर्वी खण्ड (जामुने–मुग्लिन) को प्रगति हालसम्म ८६ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्