त्रिबेणीधाममा रुद्राक्षसहित दुई सयभन्दा बढी बिरुवा रोपियो
नुवाकोट, साउन १० – जिल्लाको पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको संगम स्थलमा रहेको त्रिबेणीधाममा शनिबार वृक्षरोपण गरिएको छ ।
बन डिभिजन कार्यालय, नुवाकोटको सहयोगमा रुद्राक्षसहित दुई सयभन्दा बढी बिरुवा रोप्ने कार्यक्रम सम्पन्न भएको हो। हरियाली संरक्षण र धार्मिकस्थलको सौन्दर्य वृद्धिका लागि आयोजना गरिएको कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि धामका संस्थापक संरक्षक रामकृष्ण थापा रहेका थिए भने सभापतित्व त्रिबेणीधाम सुधार तथा संरक्षण संस्थाका अध्यक्ष अर्जुन प्रसाद गुणीले गरेका थिए ।
धाम परिसरलाई हरियालीयुक्त र स्वच्छ बनाउन वृक्षारोपणले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा सहभागीहरूले वृक्षारोपण मात्र नभई धार्मिकस्थलको संरक्षणमा पनि प्रतिबद्धता जनाएका थिए।
यस अवसरमा आयोजक संस्थाले बन डिभिजन कार्यालय नुवाकोटलाई सहयोगका लागि आभार व्यक्त गरेको छ।

