दुप्चेश्वर धाममा शनिबार १३ हजार श्रद्धालु, भेटी संकलन तीन लाख नाघ्यो
नुवाकोट,साउन १० । श्रावण महिनाको दोस्रो शनिबार, नुवाकोटको पवित्र धार्मिक स्थल दुप्चेश्वर महादेव धाममा करिब १३ हजार श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिता रह्यो । बिहानैदेखि दर्शनार्थीको लर्को लागेकाे धाममा पूजाआजा, आरती र विशेष साधनामा लीन भक्तजनहरूको उपस्थिति केवल भीडको संख्याले मात्र नभई भक्ति, अनुशासन र भावनाको समर्पणले झल्किएको थियो।
श्रद्धालुको आस्थाले भरिएको यस दिन, दुप्चेश्वर धाममा जम्मा भएको भेटी रकम रु ३ लाख ७ हजार ९ सय पचास पुगेको कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। उक्त रकममध्ये रु १ लाख ७८ हजार ६ सय ५० मध्यान्ह आरतीबाट संकलन भएको हो भने डिजिटल माध्यमबाट थप रु ४ हजार ५ सय ५ प्राप्त भएको थियो। भेटीको गणना प्रत्येक दिन साँझ ५ बजे भक्तजनको रोहबरमा गरिने र जो कोहीलाई सो कार्यक्रममा सहभागी हुन सकिने व्यवस्थापन समितिले जनाएको छ।
भक्तजनको वृद्धिसँगै, पार्किङ व्यवस्थापनमा भने केही अस्तव्यस्तता देखिएको थियो। अस्थायी व्यवस्था अपुग भएकोले, शनिबार तथा अन्य विशेष दिनमा पूर्वतयारीसहितको सशक्त व्यवस्थापन गर्ने योजना समितिको रहेको छ।
दुप्चेश्वर धाम धार्मिक आस्थाको केन्द्र मात्र नभई समाज रूपान्तरणको अभियान बोक्ने संस्थागत थलो पनि हो। धामको मूल उद्देश्य धार्मिक चेतना विस्तार गर्नु, स्थानीय सांस्कृतिक सम्पदाको संरक्षण गर्नु, सामाजिक समरसता प्रवर्द्धन गर्नु, आध्यात्मिक साधनाको मार्ग देखाउनु, धार्मिक पर्यटनको सम्भावनालाई स्थानीय समृद्धिसँग जोड्नु र सेवा भावनालाई व्यवहारमा उतार्नु रहेको छ।
सेवा नै धर्म हो भन्ने मूल मन्त्रमा अडिग रही धामले श्रावण महिनामा प्रत्येक दिन विशेष आरती, हरिहर झाँकी, ध्यान–साधना तथा शिवभक्तिमय वातावरण निर्माण गर्दै आएको छ।
श्रावण, शनिबार र चाडपर्वहरूमा भक्तजनको दिनप्रतिदिन बढ्दो सहभागिताले दुप्चेश्वर धाम केवल नुवाकोटको मात्र नभई देशकै एक प्रमुख धार्मिक गन्तव्यको रूपमा स्थापित हुने विश्वास बढेको छ।

