गर्मी छल्न नुवाकोटका झरनामा युवायुवतीको घुइँचो, प्राकृतिक गन्तव्यमा पर्यटकको आकर्षण बढ्दो



नुवाकोट,साउन ११ । गर्मी मौसमको चर्को तापबाट राहत खोज्दै राजधानी नजिकको नुवाकोट जिल्लामा रहेका प्राकृतिक झरनाहरूमा मनोरञ्जन लिन जानेहरूको भीड दिनप्रतिदिन बढिरहेको छ। विशेषतः बिदा तथा शनिबारका दिन काठमाडौं, भक्तपुर, ललितपुर लगायतका स्थानबाट सर्वसाधारण, विद्यार्थी, युवायुवती तथा अभिभावकहरू आफ्ना बालबालिकासहित प्राकृतिक शीतलताको खोजीमा नुवाकोटको शिवपुरी, ककनी, जिलिङलगायतका रमणीय झरनातर्फ आकर्षित भइरहेका छन्।

शिवपुरी गाउँपालिका–८ मा अवस्थित लौके झरना हाल सबैभन्दा लोकप्रिय गन्तव्यका रूपमा उभिएको छ। बिदाको दिन बिहानैदेखि सयौं मोटरसाइकल, कार र माइक्रोबसमार्फत मानिसहरू उक्त स्थान पुग्ने गर्छन्। पानीमा नुहाउने, फोटो खिच्ने, भिडियो बनाउने, गीत–संगीतमा रमाउने र एक दिनको विश्रामका लागि धेरैले यस झरनालाई रोज्ने गरेका छन्। झरना संरक्षण समितिका अध्यक्ष गोपाल सिलवालका अनुसार बिदाको दिन ३ देखि १० हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक सो गन्तव्यमा पुग्ने गरेका छन् ।

नुवाकोटको प्रकृतिले भरिएको भूगोलमा अवस्थित लौकेसंगै ककनीको फुङफुङ, जिलिङको हल्चे र वांझे झरनाहरू पनि अत्यन्त चर्चित बन्दै गएका छन्। यी झरनाहरू प्रायः पहाडको काखमा, हरियालीबीच र शान्त वातावरणमा रहेको हुँदा शहरको कोलाहलबाट टाढा शान्ति खोज्नेहरूका लागि उपयुक्त गन्तव्य बनेका छन्।

शहरी जीवनको दौडधुपबाट थकित मानिसहरू हप्तामा एकपटक प्राकृतिक सौन्दर्यमा डुब्न चाहन्छन्, जहाँ शुद्ध हावा, चिसो पानी र हरियाली हुन्छ। त्यही कारण नुवाकोटका यी झरनाहरू युवा पुस्तादेखि पारिवारिक घुमन्तेसम्मका लागि आकर्षणको केन्द्र बनेका छन्।

यद्यपि, पर्यटकको चापसँगै पार्किङ व्यवस्थापन, सरसफाइ र संरचनागत सुविधा सुधारको आवश्यकता देखिएको छ। स्थानीय तह र प्रदेश सरकारको सहकार्यमा यदि यी स्थानहरूको पूर्वाधार र प्रवर्द्धनमा ध्यान दिइयो भने नुवाकोट धार्मिक मात्र नभई प्राकृतिक पर्यटनको एक उत्कृष्ट मोडलका रूपमा स्थापित हुनसक्ने सम्भावना प्रबल देखिन्छ।

प्रतिक्रिया दिनुहोस्