एनआरएनए यूकेको अध्यक्षमा नुवाकोटका राजेन्द्र पुडासैनी निर्वाचित



काठमाडौं,साउन ११। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–८ स्थायी घर भइ हाल बेलायतमा रहेका राजेन्द्र पुडासैनी गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले अध्यक्ष पदका प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै जीत हासिल गरेका हुन्।

पुडासैनीले आन्तरिक विवादमा रहेका गैरआवासीय नेपालीहरूलाई एकतावद्ध बनाउने अभियानसहित उम्मेदवारी दिएका थिए। विजयी भएपछि उनले आफ्नो नेतृत्वकालमा एनआरएनए यूकेलाई समावेशी, पारदर्शी र जनउत्तरदायी संस्था बनाउने प्रतिबद्धता जनाएका छन्।

बेलायतमा २५ वर्षदेखिको सक्रियता

राजेन्द्र पुडासैनी २५ वर्षअघि अध्ययनका लागि बेलायत गएका थिए। उनले त्यहाँ प्रतिष्ठित विश्वविद्यालयबाट एमबीए र बीएस्सी अनर्स उत्तीर्ण गरेका छन्। पछिल्लो १५ वर्षदेखि बेलायतको स्वास्थ्य सेवामा कार्यरत उनी पेशागत जीवनसँगै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय छन्।

राजनीतिक र सामाजिक पृष्ठभूमि

विद्यार्थीकालदेखि नै सामाजिक र राजनीतिक गतिविधिमा क्रियाशील पुडासैनी नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट सरस्वती बहुमुखी क्याम्पसमा स्ववियू सभापति समेत बनेका थिए। पारिवारिक रूपमै राजनीतिमा सक्रिय पुडासैनीको नेतृत्वबाट एनआरएनए यूकेमा लामो समयदेखि देखिँदै आएको विभाजन अन्त्य हुने विश्वास गरिएको छ।

उनको विजयसँगै सामाजिक सञ्जालमा देश–विदेशबाट बधाइ र शुभकामनाको ओइरो लागेको छ। समर्थकहरूका अनुसार पुडासैनीको नेतृत्वले संगठनमा नयाँ ऊर्जा, विश्वास र समन्वयको वातावरण सिर्जना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्