समुन्द्रादेवी मन्दिर परिसरमा विविध प्रजातिका फूलका बिरुवा रोपिँदै हरियाली अभियान



नुवाकोट,साउन ११ । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने समुन्द्रादेवी मन्दिर परिसरमा स्थानीय खैँजडी भजन समूहको अगुवाइमा विभिन्न प्रजातिका फूलका बिरुवा रोपिएको छ। मन्दिर परिसरलाई हरियाली, आकर्षक र वातावरणमैत्री बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

मन्दिर क्षेत्रको सौन्दर्य वृद्धिका लागि गरिएको उक्त अभियानमा स्थानीय भजन समूहका संयोजक रामकृष्ण भेटुवालको अगुवाइमा समूहका सदस्यहरू, युवा, शिक्षक–विद्यार्थी, साथै शिवपुरी गाउँपालिका वडा नम्बर ६ का प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। फूलका बिरुवासँगै वातावरण संरक्षणको सन्देश फैलाउने प्रयाससमेत गरिएको सहभागीहरुले बताएका छन्।

जिल्लाको शिवपुरी गाउँपालिका–६ मा अवस्थित समुन्द्रादेवी मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा चिनिन्छ। यहाँ भक्तजन विशेषगरी खैँजडी भजन र नाच–गान सहित पूजा–अर्चना गर्ने परम्परा छ, जसले धार्मिक मात्र होइन, सांस्कृतिक चेतनाको समेत संरक्षण गर्दै आएको छ।

काठमाण्डौंबाट करिब ४० किलोमिटर टाढा रहेको यो क्षेत्र शिवपुरी राष्ट्रिय निकुञ्जको काखैमा अवस्थित छ। स्याल्पिङ खोला, सिन्चे, महादेव डाँडा लगायत पर्यटकीय पदमार्गहरू यस क्षेत्रलाई थप आकर्षक बनाइरहेका छन्।

मन्दिरमा विशेष पर्व, जात्रा तथा उत्सवको अवसरमा भक्तजनहरूको उल्लेख्य उपस्थिति हुने गर्दछ। यस्ता अवसरमा आयोजना हुने खैँजडी भजन तथा नृत्य कार्यक्रमहरूले धार्मिक–सांस्कृतिक उत्साह थप बलियो बनाउँदै आएका छन्।

समुन्द्रादेवी मन्दिर परिसरमा सञ्चालन गरिएको हरियाली अभियानले वातावरणीय सन्देशसँगै पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने वडा नम्बर ६ का सदस्य कमल तामाङ बताउँछन्। उनका अनुसार आगामी दिनमा थप सजावट तथा संरक्षणका गतिविधि तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्