नुवाकोटमा बोल्न नसक्ने बालक फेला, अभिभावक खोजी गर्दै प्रहरी
नुवाकोट, साउन ११ । नुवाकोटको बिदुर नगरपालिका–९, सिलट्याङ्की क्षेत्रमा बोल्न नसक्ने अवस्थामा एक अन्दाजी १२ वर्षीय बालक फेला परेका छन्। नगर प्रहरी कार्यालय कोलनी, नुवाकोटका प्रमुख कृष्ण भण्डारीको नेतृत्वमा सन्चालित पैदल गस्ती टोलीले बालकलाई आइतबार बिहान १० बजे तिर अलपत्र अवस्थामा फेला पारेको हो।
बालकको नाम, थर र वतन खुलेको छैन। बोल्न नसक्ने उनलाई प्रारम्भिक सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय, नुवाकोट ल्याइएको थियो। तर, अहिलेसम्म उनी सम्बन्धी कुनै अभिभावक वा आफन्त सम्पर्कमा नआएकाले बालकलाई बिदुर नगरपालिकाले सञ्चालन गरेको सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले बालकलाई चिनेका वा उनको बारेमा जानकारी भएका व्यक्तिहरूलाई चाँडै नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै, थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटका सम्पर्क नम्बर ९८५१३१३३३५ वा ९८५१२८५१९९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

