त्रिशूली अस्पतालको ६१औँ वार्षिकोत्सव सम्पन्न
नुवाकोट, साउन ११ । त्रिशूली अस्पताल, नुवाकोटले आफ्नो ६१औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता र त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
उक्त समारोहमा विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, विभिन्न वडाका अध्यक्षहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, सामाजिक संघसंस्थाका प्रतिनिधि, जिल्लाभित्रका साथै छिमेकी जिल्लाका अस्पताल प्रमुखहरूसहित स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वार्षिकोत्सव कार्यक्रमले त्रिशूली अस्पतालको विगत, वर्तमान र भावी योजनाहरूको समीक्षा गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार र पहुँच विस्तारमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ।

