वैदेशिक रोजगारीको नाममा ठगी गर्ने नुवाकोटका तामाङसहित तीन जना पक्राउ



काठमाडौं,साउन ११ । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक नुवाकोटे युवकसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ मा बसोबास गर्ने ३६ वर्षीय हेमबहादुर तामाङ रहेका छन्।

तामाङले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर सिङ्गापुर पठाइदिन्छु भन्दै प्रतिव्यक्ति दुई लाख सत्तरी हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनी लामो समयदेखि सम्पर्कविहीन थिए।

पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान र कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

यसै प्रकरणमा संलग्न रहेको आरोपमा मैयादेवी उप्रेती र ईश्वरी थापा नामका दुई जना महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ। उनीहरूले अमेरिका र माल्टामा रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्