बेरुजु बढ्नुलाई सांसद केसीले लेखा समितिलाई ठहराए जिम्मेवार



काठमाडौं,साउन ११ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा बढ्दो बेरुजुको मुख्य जिम्मेवारी सार्वजनिक लेखा समिति र सम्बन्धित प्रशासनिक निकायको भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले प्रत्येक वर्ष बेरुजु बढ्दै जाँदा पनि त्यसको फर्स्योटको दर घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले यस्तो अवस्थाको जिम्मेवारी लेखा समितिमा रहेको भन्दै समितिलाई अब गम्भीर भएर विचार गर्न सुझाव दिए।

“प्रत्येक वर्ष बेरुजु बढ्दै गएको छ तर फर्स्योट घट्दै गएको छ,” सांसद केसीले भने, “यसरी बेरुजु बढ्दै जानुमा लेखा समिति बढी जिम्मेवार छ र समितिसँग सम्बन्धित प्रशासनिक निकायहरू पनि उत्तिकै जिम्मेवार छन्।”

उनले बेरुजु नियन्त्रणमा ल्याउन सकिने नीति निर्माण र पारदर्शी लेखा प्रणाली विकास गर्न लेखा समितिलाई अग्रसर हुनुपर्ने धारणा राखे। साथै, उनले महालेखा परीक्षकको कार्यालयभित्रको संरचना र क्षमतामा सुधार गर्न पनि समितिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

सांसद केसीले लेखा प्रणालीका समस्या केवल सैद्धान्तिक बहसमा सीमित नराखी व्यवहारिक सुधारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिँदै भने, “राज्य प्रणालीमा सुधार नगरी, हाम्रो कार्य क्षमता नबढाई यी समस्या सैद्धान्तिक रूपमा समाधान हुन सक्दैनन्।”

उनले सुशासन कायम गर्दै आर्थिक तथा प्रशासनिक निकायहरूको संस्थागत कार्यक्षमता अभिवृद्धि गर्नु आजको आवश्यकता भएको पनि बताए।

प्रतिक्रिया दिनुहोस्