नुवाकोट शिवपुरीमा पहिरो: मोटरसाइकल पुरियो, गोठ बगायो, सडक अवरुद्ध



नुवाकोट, साउन १२। शिवपुरी गाउँपालिका क्षेत्रको विभिन्न स्थानमा गएराति परेको अविरल वर्षापछि गएको पहिरोले जनजीवन प्रभावित बनाएको छ।

गाउँपालिका वडा नम्बर ४ मा लप्सेस्थित स्थानीय ठाकुर थापाको गोठ समेत पहिरोले बगाएको पुष्टि भएको छ भने घरमा आंशिक क्षति पुर्याएको छ । गोठमा रहेका सामग्री र संरचना पूर्णरूपमा क्षति भएको छ भने पशुचौपायाको भने उद्धार गरिएको छ।

यसैबीच, गुर्जे–खोलेगाउँ सडकखण्ड अन्तर्गत खोलेगाउँमा गएको पहिरोले राजु लामाको मोटरसाइकल पनि पुरिएको छ। सडकमा ठूलो मात्रामा माटो र ढुंगामाटो थुप्रिएपछि सवारी आवागमन पूर्णरूपमा बन्द भएको स्थानीय युवा लक्ष्मण लामाले बताएका छन ।

त्यस्तै, मध्यपहाडी लोकमार्ग नजिकै शिवपुरी–५ मा पर्ने सिलामे जाने चोक नजिकै ठूलो रुख ढल्दा अर्को सिलामे सडकखण्डमा समेत आवागमनमा अवरोध सिर्जना भएको छ।

स्थानीयवासीहरूका अनुसार राति करिब ११ बजेदेखि पहिरो खस्न थालेपछि सम्पर्क विच्छेद भएको थियो। हालसम्म मानवीय क्षतिको खबर छैन तर थप पहिरोको सम्भावना रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

सडक खुलाउने र पहिरो प्रभावित क्षेत्रको जोखिम मूल्याङ्कनका लागि स्थानीय तह र प्रशासनको टोली परिचालन हुने तयारीमा रहेको जनाइएको छ। अवरुद्ध सडक भने सुचारुका लागि जेसिभी ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्