नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ कल्लेरीमा पहिरो, १० घर उच्च जोखिममा



नुवाकोट, साउन १२। गएरातिदेखि परेको लगातारको अविरल वर्षाका कारण दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित कल्लेरी क्षेत्रमा ठूलो पहिरो गएको छ। पहिरोको असरले कम्तीमा १० घर उच्च जोखिममा परेका छन्।

स्थानीयवासीहरू त्रासमा बाँचिरहेका छन् भने कुनै पनि क्षति टार्न गाउँ छाड्ने तयारीमा छन्। स्थिति गम्भीर भएपछि स्थानीय जनप्रतिनिधिहरूबाट चाँडो र प्रभावकारी उद्धार र पुनःस्थापना पहलका लागि दबाब दिइएको छ।

वडा नम्बर २ का अध्यक्ष बिरबल तामाङले पहिरोको कारणमा मानवीय लापरबाही पनि रहेको औँल्याउँदै भने, “प्राकृतिक प्रकोप त हो नै, तर यसमा मानवीय क्रियाकलापको भूमिका नकार्न सकिन्न, सडक डिभिजनले आवश्यकता भन्दा बढी डोजर प्रयोग गरेकोले समस्या बढेको हो। सिङ्गो गाउँ अहिले संकटमा परेको अवस्था सामान्य होइन।” उनले गाउँबासीलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र दीर्घकालीन पुनःस्थापनासम्मका विषयमा छलफल गर्न दुप्चेश्वर गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकमा सबै सरोकारवालालाई अनिवार्य उपस्थित हुन आग्रह गरेका छन्।

घटनास्थल रहेको वडा नम्बर ३ का अध्यक्ष ध्रुवकर केसीसँग प्रतिक्रिया लिन खोज्दा आफू अत्यन्तै व्यस्त रहेको जवाफ मात्र दिएका छन्।

स्थानीय प्रशासन, जनप्रतिनिधि र उद्धार संस्थाहरू मिलेर जोखिममा परेका नागरिकको तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न आवश्यक पहल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्