विदुरमा १० हजार सयपत्री फूलको बिरुवा रोप्ने अभियान सुरु
नुवाकोट, साउन १२। विदुर नगरपालिका वडा नम्बर ५ कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रमअनुसार १० हजार सयपत्री फूलको बिरुवा रोप्ने अभियान सुरु गरेको छ।
अभियान अन्तर्गत वडा कार्यालय परिसरको ३ रोपनी जमिनमा बिरुवा रोप्न थालिएको छ भने वडाका ५ वटा विद्यालय र स्थानीय नागरिकलाई समेत फूलको बिरुवा प्रदान गरिएको विदुर नगरका उपमेयर प्रभा बोगटीले बताइन। यसअघि वडा नम्बर ९ मा नौ रोपनी जग्गा क्षेत्रफलमा फूलको विरुवा रोप्ने कार्यको शुरूवात गरिएको थियोे ।
सजावट, वातावरणीय सौन्दर्य र हरियाली प्रवर्द्धनका लागि संचालन गरिएको यो अभियानले विद्यालय र समुदायमा फूलको महत्वप्रति चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमको प्रारम्भसाथ सयपत्री फूल रोप्ने कार्य अगाडि बढाइएको छ भने आगामी दिनमा निरन्तरता दिँदै सम्पूर्ण १० हजार बिरुवा लक्षित स्थानहरूमा रोप्ने योजना रहेको वडा कार्यालयले जनाएको छ।

