नुवाकोटको शिवपुरी गुर्जे–खोलेगाउँ सडकसहित मध्यपहाडी लोकमार्ग सुचारु



नुवाकोट, साउन १२। गएरातिदेखिको अविरल वर्षाका कारण अवरुद्ध भएको शिवपुरी गाउँपालिका वडा नम्बर ६ गुर्जे हुँदै खोलेगाउँ जोड्ने सडकखण्ड र मध्यपहाडी लोकमार्गका विभिन्न भागका पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ।

शिवपुरी गाउँपालिकाका उपाध्यक्ष बीरबहादुर तामाङको सक्रियतामा खोलेगाउँ सडकखण्डको ठाँउ–ठाउँमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको हो। ठाउँ-ठाउँमा ठूलो मात्रामा माटो, ढुंगा र रुखले सडक अवरुद्ध भए पनि स्थानीय निकायको समन्वय र पहलमा अहिले सरसाना सवारीसाधन सञ्चालनमा आएका छन्।

मध्यपहाडी लोकमार्ग अन्तर्गत वडा नम्बर ३ खोपासे भिर, वडा नम्बर ५ को कुखुरे पुछार डाँडा, कठेरी पुछार, वडा कार्यालय जाने बाटो नजिक, र वडा नम्बर ६ को अम्बटे माथि अर्जुन महतको घर मुनी, विजय तामाङको घर नजिक घुम्ती लगायतका स्थानहरूमा सडक माथिबाट आएको पहिरो हटाइएको छ। साथै, पुरानो गाउँ प्रशासन भवन नजिक पनि बाटो माथिबाट पहिरो खसेको थियो।

वर्षाका कारण ठाउँ–ठाउँमा सडकको पर्खाल भत्किएको र साना गाडी मात्र ओहोर–दोहोर गरिरहेको अवस्था रहेको बताइए पनि वडा नम्बर ६ मा भने बस समेत  सञ्चालनमा आएको जानकारी प्राप्त भएको छ।

स्थानीय प्रशासनका अनुसार, लगातारको वर्षा अझै जारी रहेकोले थप पहिरो र क्षति हुने जोखिम कायमै रहेकाले सजगता अपनाउन अनुरोध गरिएको  छ।

प्रतिक्रिया दिनुहोस्