केरुङमा ठूलो वर्षा, त्रिशूली नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह



नुवाकोट, साउन १२। चीनको केरुङ क्षेत्रमा परेको अत्यधिक वर्षाका कारण त्रिशूली नदीमा बाढीको जोखिम देखिँदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाका अनुसार चिनियाँ पक्षबाट केरुङ क्षेत्रमा ठुलो वर्षा भएको र बाढीको सम्भावना रहेको जानकारी रसुवा प्रशासनमार्फत नुवाकोट प्रशासन कार्यालयमा पठाइएको हो।

“हामीलाई रसुवाबाट सूचना प्राप्त भएको हो। त्यसपछि त्रिशूली नदी आसपासका बस्तीहरूमा बाढीको जोखिम हुनसक्ने भन्दै स्थानीयहरूलाई सचेत गराइएको छ,” प्रहरी निरीक्षक लामाले जानकारी दिए।

यसअघि पनि केरुङ क्षेत्रको वर्षाले विनाश निम्त्याएको स्मरणीय छ। गत असार २४ गते रसुवाको भोटेकोशी र ल्हेन्दो खोलामा आएको बाढीले २१ जनाको ज्यान गएको थियो भने नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको थियो। त्यस बाढीले रसुवागढी जलविद्युत आयोजना सहित आधा दर्जनभन्दा बढी जलविद्युत परियनामा क्षति पुर्‍याएको थियो।

प्रशासनले विशेषगरी त्रिशूली नदी किनार र आसपासका बस्तीहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै सम्भावित विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गर्नसमेत स्थानीय तहलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्