विश्व बाघ दिवस: नेपालमा बाघ संख्या बढ्दै, व्यवस्थापन चुनौतीपूर्ण



काठमाडौं,साउन १३ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ, जसको उद्देश्य पाटेबाघको संरक्षणबारे जनचेतना फैलाउनु हो। सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा पहिलो विश्व बाघ सम्मेलनपछि यो दिवस मनाउन थालिएको हो।

नेपालमा सन् २०२२ को गणनाअनुसार बाघको संख्या ३५५ पुगेको छ, जुन सन् २००९ को तुलनामा झन्डै तेब्बर हो। विशेषज्ञहरूका अनुसार नेपालमा बाघको ‘धान्ने क्षमता’ करिब ४ सय जति रहेको बताइएको छ। यद्यपि, बाघको वृद्धि संगै मानव–बाघ द्वन्द्व, चोरीसिकारी, पूर्वाधार निर्माणका असर, बासस्थानको दबाव र व्यवस्थापन चुनौती पनि बढ्दै गएका छन्।

विशेषज्ञहरूले बाघलाई गुणस्तरीय बासस्थान र आहारा सुनिश्चित गर्न, घाँसेमैदान र पानीका स्रोत बढाउनुपर्नेमा जोड दिएका छन्। साथै, मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न स्थानीयलाई वैकल्पिक जीविकोपार्जनका उपायहरू उपलब्ध गराउने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

हाल देशभर १८ समस्याग्रस्त बाघ विभिन्न निकुञ्ज र चिडियाखानामा राखिएका छन्, जसको व्यवस्थापनमा सरकारलाई उल्लेख्य खर्च भइरहेको छ। बाघ व्यवस्थापनका वैकल्पिक उपायबारे बहस पनि सुरु भएको छ।

विश्वभर सन् २०२५ सम्म बाघको संख्या ५,३५७ पुगेको छ, जसमा भारतमा सबैभन्दा बढी ३,१६७ बाघ छन्। नेपाल चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्