कविता: नाग के टाँस्नु पर्छ?- दिनेश पाण्डे
फणा फट् फिँजार्दा जटा झट् बजार्दा
मुखौडो सँगै नाक चुम्रुक्क पार्दा
स्वयंभित्र सम्हालिँदै हाँस्नु पर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ !!
बडेमान आँखा तरी झाँट पार्दा
छटाएर नानाथरी छाँट पार्दा
थुनी कष्ट पीडा मरी बाँच्नु पर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ !!
घरी चाम बाट्दा घरी ध्वाँस छाड्दा
बिसैला कुराले हियो च्वास्स पार्दा
व्यथा दर्द मुस्कानमा साट्नु पर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ !!
गिदी चाट्तछन् लप्लपाएर जिब्रो
डराई यसै लग्लगी काँप्छ तिघ्रो
सयौँ वेदनामा खुसी गाँस्नु पर्छ
घरै छन् महानाग के टाँस्नु पर्छ !!
उठाएर मुन्टो हुँकार्दा फुँकार्दा
र बङ्ग्याउँदै ओठ चोसो पसार्दा
किटी दाँत यो जिन्दगी साँच्नु पर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ !!
उचाली टुँडा सन्किँदामा सनक्क
फुलाई गला फन्किँदामा फनक्क
ढिका आँसु प्यूँदै जुनी काट्नु पर्छ
घरै छन् महानाग के टाँस्नु पर्छ!!
यतै भ्वाङ पार्दा उतै भ्वाङ पार्दा
धरोधर्म भन्दै सयौँ स्वाङ पार्दा
बिझेका कथा सम्झिँदै आँसु झर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ !!
तिखा दाँत भित्रै पुर्याएर धस्ता
कठै आँतभित्रै पुर्याएर डस्ता
दबाएर संवेदना बस्नुपर्छ
घरै छन् महानाग के टाँस्नुपर्छ !!
ससाना कुरामै उसै स्वाँक्कस्वाँक्क
गरी जङ्गिँदा झम्टिँदा फ्वाँक्कफ्वाँक्क
झटारेर लाठी कयौँ भाँच्नु पर्छ
घरैभित्र छन् नाग के टाँस्नु पर्छ!!
कतै स्वाँक्क भाले कतै फ्वाँक्क पोथी
र भिड्दा उनै दम्पती दन्त जोती
सधैँ जङ्गली तालमा नाच्नु पर्छ
घरै छन् महानाग के टाँस्नु पर्छ !!

