घ्याङ्स्वाँरा देखि खड्कुले झरनासम्म: नुवाकोट पञ्चकन्यामा पर्यटकको नयाँ गन्तव्य
• भरतसन्तोषी लामा
नुवाकोट,साउन १३ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका–३ मा अवस्थित खड्कुले झरनामा यस वर्षको नागपञ्चमी विशेष बन्यो—त्यो केवल धार्मिक चाडकै कारण होइन, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाले भरिएको त्यो स्थलमा मंगलबार ‘झरना महोत्सव’को आयोजना गरिएको थियोे ।
सिद्धेश्वर महादेव मन्दिरको पवित्रता, खड्कुले छाँगाको छङ्गछङ्ग आवाज र स्थानीय सांस्कृतिक उत्सवको आत्मीय संगमले महोत्सवलाई एक अनुपम अनुभूति बनायो। खड्कुले झरना संरक्षण तथा प्रवर्द्धन समितिको आयोजनामा भएको महोत्सवले केवल स्थानीयबासीलाई उत्साहित बनाएन यस स्थल पञ्चकन्याको घ्याङ्स्वाँरापछिको भविष्यको पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना पनि उजागर गर्यो।
कार्यक्रममा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, उपाध्यक्ष विमला केसी पाठक र प्रमुख प्रशासकीय अधिकृत हिराधन राईको उपस्थिति रहनु केवल औपचारिकता मात्र थिएन—यो महोत्सवप्रतिको स्थानीय सरकारको प्रतिबद्धताको अनुपम संकेत पनि थियो । सो अवसरमा पूजापाठ, भजन, नाचगान र विविध स्थानीय सांस्कृतिक प्रस्तुतीले झरनाको रमणीय परिवेशलाई थप जीवन्त बनाएको थियोे ।
खड्कुले झरना केवल एक झरना मात्र होइन, यो नुवाकोटको गर्व हुनसक्ने एक सम्भावनाशील गन्तव्य हो। गौमती खोलाको किनारमा करिब १०० फिटको उचाइबाट झर्ने यो छाँगाबाट हिउँदमा पनि घट्टा घुम्ने गरी पानी बगिरहन्छ। रामकृष्ण थापाको नेतृत्वमा झरनाको संरक्षण र विकास अभियान निरन्तर अगाडि बढिरहेको छ।
२०७९/८० सालमै यहाँको सडक ट्र्याक खोलिएको हो, जसले यहाँसम्म पुग्नको लागि यातायात सहज बनाएको छ। झरनाको वरिपरि रहेका प्राकृतिक दह, हरियाली र ऐतिहासिक संरचनाहरूले यस स्थानलाई सम्पूर्ण पारिवारिक, धार्मिक र साहसिक पर्यटनको गन्तव्य बनाउन सक्ने क्षमता राख्दछ।
यसै सन्दर्भमा, पञ्चकन्या गाउँपालिका–४ मा अवस्थित घ्याङ्स्वाँरा पर्यटकीय पार्कलाई पनि उल्लेख नगरी हुँदैन। समुन्द्री सतहबाट करिब १७५० मिटरको उचाइमा रहेको यो पार्क अहिले नुवाकोटकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भैसकेको छ। पार्कभित्र खेल मैदान, विश्रामस्थललगायत संरचना निर्माण भइरहेका छन्, जसले आगन्तुकहरूलाई थप आकर्षित गरिरहेका छन्।
झरना महोत्सव केवल एक सांस्कृतिक कार्यक्रम होइन, यसले खड्कुले झरनाको पर्यटकीय उज्यालो भविष्यप्रति आशा र विश्वास बोकेको छ। यदि यस्ता गतिविधिहरू निरन्तर भइरहे, भौतिक पूर्वाधार थप सुदृढ भए र प्रचारप्रसार प्रभावकारी बनाइयो भने खड्कुले झरना नुवाकोट मात्र होइन, सिङ्गो देशको लागि पनि एक छुट्टै पहिचान बन्न सक्छ।
यसरी, प्रकृति, संस्कृति र समुदायको सहभागितामा आधारित यो महोत्सवले नुवाकोटको पर्यटन सम्भावनालाई नयाँ गति दिएको छ। खड्कुले झरनाको छेउछाउमा बग्ने जल मात्र होइन, बगिरहेको छ नुवाकोटको भविष्यका अनेक सपना पनि!

