गोसाइँकुण्ड जाने श्रद्धा र सत्यको बाटो: दुप्चेश्वर मार्गप्रति भ्रामक प्रचारले उठाएका प्रश्नहरू



नुवाकोट,साउन १४—भगवान शिवको तपोभूमि। श्रद्धा, शान्ति र सत्यको यात्राको प्रतीक। हरेक वर्ष हजारौं भक्तजनले यस पवित्र स्थानसम्मको यात्रा गर्छन्, जसका लागि विभिन्न मार्ग छन्। तीमध्ये काठमाडौं—टोखा—छहरे—चौघडा—खरानीटार—समुन्द्रटार—दुप्चेश्वर—घ्याङफेदी—शिसिपु—तालु-सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्ने बाटो ऐतिहासिक रूपमा छोटो, सहज, शान्त र आध्यात्मिक यात्राको पथको रूपमा स्थापित छ।

यही मार्गलाई लिएर पछिल्लो समय केही सञ्चारमाध्यम र केही समूहबाट भ्रामक र अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै दुप्चेश्वर धार्मिक क्षेत्रले गहिरो चिन्ता व्यक्त गरेको छ।

दुप्चेश्वर मार्ग कुनै नयाँ निर्माण गरिएको बाटो होइन। यो त पुस्तौँदेखि प्रयोग हुँदै आएको, भक्ति र प्रकृतिको सन्तुलन समेटिएको तीर्थ यात्रा मार्ग हो। जहाँ प्रत्येक पगडन्डी, डोब, पाटी र डाँडामा आस्थाका सुस्केरा मिसिएका छन्।

दुप्चेश्वर बिकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले सबै सञ्चारमाध्यम तथा समूहहरूलाई आग्रह गर्दै भनेका छन् —सूचनाको सत्यता पुष्टि नगरिकन धार्मिक यात्राको विषयमा भ्रम फैलाउनु नितान्त आपत्तिजनक र अनुचित हो। आस्था, श्रद्धा र धर्मप्रतिको सम्मान गर्नु प्रत्येक जिम्मेवार नागरिक र संस्थाको दायित्व हो।

पछिल्लो समयमा गोसाइँकुण्डको वैकल्पिक पहुँच मार्गको खोजी भइरहेका बेला दुप्चेश्वर मार्गप्रति देखिएको अविश्वास र भ्रामक प्रचारले तीर्थयात्रीहरूको मनमा अन्योल मात्र होइन, धार्मिक सहिष्णुतामा पनि चोट पुर्‍याएको उनको ठहर छ ।

यस पवित्र यात्रालाई भक्ति, विश्वास र तथ्यका आधारमा हेर्ने समय हो—न कि अड्कल, अफवाह र प्रचारको भरमा। धार्मिक यात्रामा मार्गभन्दा बढि महत्त्व यात्राको भावना, त्याग र श्रद्धाको हुन्छ- स्थानीय भन्छन् ।

उनीहरुको आग्रह छ—सत्यमा आधारित, श्रद्धामा जोडिएको यात्राको प्रचार गरौं। आ–आफ्नो धर्म, भूगोल र भावनाको सम्मान गरौं। गोसाइँकुण्डको शान्त र ऐतिहासिक मार्ग—दुप्चेश्वर मार्ग—लाई आत्मसात गरौं, बुझौं र फैलाऔं।

यसैबीच, रसुवाका स्थानीयले भने फरक मार्ग सुझाएका छन् । रसुवाका स्थानीय बासिन्दाहरूले नुवाकोट हुँदै गोसाइँकुण्ड जान सजिलो र सहज भएको भन्ने प्रचार वास्तविकताभन्दा टाढा रहेको तर्क गरेका हुन। उनीहरूका अनुसार, दुप्चेश्वर मार्गको अस्तित्वलाई अस्वीकार नगरिएको, तर तीर्थयात्रीहरूको सुविधा, सुरक्षा र व्यवस्थापनको दृष्टिले यो मार्गले अझै पूर्णता नपाएको उनीहरुको जिकिर छ ।

उनीहरु रसुवाबाट हुने मार्ग, अर्थात् काठमाडौं–त्रिशूली–बेत्रावती–कालिकास्थान–धुन्चे–घट्टेखोला–खेन्दी–देउराली–ढिस्सा–चन्दनवारी–लौरीबिनायक–चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्ने पदमार्ग लामो भए पनि व्यवस्थित भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्