बँदेलको आक्रमणबाट नुवाकोटमा एकजना गम्भीर घाइते, उपचारार्थ काठमाडौ पठाइयो



नुवाकोट,साउन १४—  जिल्ला तादी गाउँपालिका–२ बाह्रबिसे निवासी मुरि तामाङ आज बिहान बँदेलको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।

स्थानीय समय अनुसार बिहान करिब ७ बजेतिर आफ्नै घर नजिकैको खेततर्फ जाँदै गर्दा जङ्गली बँदेलले अचानक आक्रमण गर्दा उनी गम्भीर रूपमा घाइते भएका हुन्। आक्रमणपछि तत्काल स्थानीयले उद्धार गरी मुरि तामाङलाई खरानीटार अस्पतालमा प्राथमिक उपचारका लागि लगेका थिए ।

खरानीटार अस्पतालमा प्रारम्भिक उपचार गरेपछि थप उपचारका लागि उनलाई काठमाडौँ रेफर गरिएको पारिवारिक स्रोतले जनाएको छ। मुरिको अवस्था गम्भीर भए पनि बोल्न र होशमा रहेको बताइएको छ।

स्थानीयवासीले भने पछिल्ला वर्षहरूमा गाउँमा जङ्गली जनावरहरूको उपस्थिति बढ्दै गएको बताए । मानवीय बस्तीमा बँदेल, बादर, बाघजस्ता जनावर पस्यो भन्ने खबर बारम्बार आउन थालेको छ।

जनावर र मानवबस्तीको द्वन्द्व बढ्दो छ भन्ने चिन्ताका बीच, स्थानीयहरूले सम्बन्धित निकायलाई आवश्यक सतर्कता र सुरक्षाको लागि पहल गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्