रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
रुस, साउन १४ — रुसको पूर्वी क्याम्चाट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण अनुसार स्थानीय समय बिहान ८:२४ बजे गएको भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली मध्ये एक हो।
भूकम्पपछि रुससहित जापान, अमेरिका, इक्वेडर र अन्य प्रशान्त तटीय देशहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। रुसको एलिजोभ्स्की जिल्लामा चार मिटरसम्मको लहर र जापानको नेमुरो क्षेत्रमा १२ इन्च अग्लो सुनामी रेकर्ड भएको छ।
कम्तीमा छवटा परकम्पन मापन गरिएको छ, जसमध्ये ७.५ म्याग्निच्युडसम्मका रहेका छन्। सुनामीको सम्भावित असरका कारण समुद्री किनारमा प्रवेश निषेध गरिएको छ।
विगत १० दिनमा उक्त क्षेत्रमा बारम्बार भूकम्प गइरहेका छन्। प्रशान्त क्षेत्रका विभिन्न देशहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

