नुवाकोटको घ्याङ्फेदीमा जलविद्युत निर्माणविरुद्ध विद्यार्थीले गरे कान थुनेर विरोध



नुवाकोट,साउन १४ — दुप्चेश्वर गाउँपालिका–१, घ्याङ्फेदीस्थित घ्याङ्फेदी माध्यमिक विद्यालय नजिकै तादी–घ्याङ्फेदी जलविद्युत आयोजनाले पावरहाउस र स्वीचयार्ड निर्माणका लागि बलजफ्ती काम सुरु गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्। विद्यालय शान्ति क्षेत्रको मर्यादा विपरीत जोखिमपूर्ण संरचना निर्माण भएपछि बुधबार शिक्षक, विद्यार्थी र अभिभावकहरूले कान थुनेर मौन प्रदर्शन गरेका हुन्।

विद्यालयमा करिब ३५० विद्यार्थी अध्ययनरत छन्। विद्यालयको छेउमै भइरहेको निर्माण कार्यको आवाज, कम्पन र सम्भावित जोखिमले पठनपाठनमा गम्भीर असर परेको विद्यालयका प्रधानाध्यापक प्रेम स्याङ्तानले बताए। बालबालिकाको शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले यस्तो संरचना अन्यत्र सार्नुपर्ने माग स्थानीयहरूले राखेका छन्।

तर निर्माण पक्षले भने सहमतिमै काम अघि बढाइएको जनाएको छ। तादी–घ्याङ्फेदी जलविद्युत आयोजना ८ मेगावाट क्षमताको धावनशक्ति (run-of-river) प्रविधिमा आधारित परियोजना हो, जसको वार्षिक उत्पादन लक्ष्य ४८.७५ गीगावाट घण्टा रहेको छ। यो आयोजना एबिपी कम्पनीमार्फत सञ्चालन भइरहेको छ। परियोजनाको कुल लागत करिब १ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटीको मोडेल अपनाइएको छ।

कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले हालै दुप्चेश्वर गाउँपालिकामा जिल्ला स्तरका उच्च संयन्त्रसहित जनप्रतिनिधिको छलफलबाट निर्माण कार्य अघि बढाउने सहमति भइसकेको दाबी गरे। उनले प्रधानाध्यापक स्याङ्तानलाई विकास निर्माणका गतिविधिमा अनावश्यक विरोध नगर्न आग्रह गर्दै, हावा र ध्वनि प्रदूषण न्यूनीकरणका लागि विस्फोटकको सट्टा केमिकल प्रविधिबाट ढुङ्गा फुटाउने तयारी गरिएको जानकारी दिए।

तर स्थानीय शिक्षक, विद्यार्थी र अभिभावकहरूले भने विद्यालय शान्ति क्षेत्रमै सहमति विपरीत जोखिमपूर्ण संरचना निर्माण गर्नु गैरजिम्मेवार कदम भएको भन्दै आवाज उठाएका छन्। उनीहरूले विकाससँगै शैक्षिक वातावरण सुरक्षित राख्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्