बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन, तीन नयाँ मन्त्री नियुक्त
हेटौंडा, साउन १४ — बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनसँगै तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरू नेपाली कांग्रेसबाट चयन भएका हुन्। धादिङका लम्साललाई आन्तरिक तथा कानुन मन्त्रालय, चितवनकी गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, र श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए ।
शपथ ग्रहण कार्यक्रम बिहीबार दिउँसो १ बजे तय गरिएको छ। लम्साल कांग्रेस संसदीय दलका प्रमुख सचेतक र गुरुङ सचेतक हुन ।
मुख्यमन्त्री लामाले हालै चार मन्त्रीलाई पदमुक्त गरेका थिए भने एक मन्त्रीले राजीनामा दिएका थिए। बाँकी रहेको संस्कृति तथा पर्यटन मन्त्रालय र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले सम्हाल्ने व्यवस्था गरिएको छ।
१४ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा हाल ६ वटा मन्त्रालय नेकपा एमालेको भागमा छन्।

