नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित



काठमाडौं,साउन १४ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् ।

स‌ंसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा नेता बानियाँको पक्षमा २२ मत परेको थियो  भने अर्का उम्मेदवार एवम् मुख्यमन्त्री बहादुर सिंह लामाको पक्षमा १४ मत पर्यो ।

एक मत बदर भएको निर्वाचन संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। निर्वाचनमा शतप्रतिशत मत खसेको थियो। संसदीय दलको बहुमत सहित बानियाँ दलको नेता बनेका हुन् ।

बानियाँकै नेतृत्वमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । जुन प्रस्ताव २२ मतले नै पारित भएको थियो । त्यसपछि रिक्त भएको संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन भएको हो ।

२०७९ सालमा भएको निर्वाचनमा बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित भएका थिए । नवनिर्वाचित संसदीय दलको नेता बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति समेत हुन ।

प्रतिक्रिया दिनुहोस्