विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी, ३ जना काठमाडौंबाट पक्राउ
काठमाडौं,साउन १४ । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ गरेका छन् ।
विदेश पठाइदिन्छु भनी आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरका ३१ वर्षीय अशोक मोक्तान छन् । मोक्तानले ६ जनाबाट ११ लाख ४० हजार रुपैयाँ ठगेको आरोप छ । यस्तै, सल्यानका ३२ वर्षीय टेक बहादुर घर्ती मगर पनि पक्राउ परेका छन् । उनले एक पीडितबाट २ लाख ८ हजार रुपैयाँ ठगेका थिए ।
यस्तै तनहुँका ४५ वर्षीय विमल आलेले एक जनालाई सर्बिया पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ । तीनै जनालाई फरक–फरक स्थानबाट पक्राउ गरिएको हो । उनीहरूविरुद्ध थप अनुसन्धान जारी रहेको छ ।

