नुवाकोट पञ्चकन्यामा तीनदिने राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन हुने, कहाँ, कहिले ?
नुवाकोट,साउन १४ — पञ्चकन्या गाउँपालिकाको आयोजनामा तीनदिने राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा राष्ट्रिय परिचयपत्र बनाउन छुट भएका नागरिकहरूका लागि शिविर सञ्चालन गर्न लागेको हो।
शिविर साउन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ। पहिलो र दोस्रो दिन अर्थात् साउन २३ र २४ गते गाउँपालिकाको कार्यालय, लाकुरीभञ्ज्याङमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सेवा प्रदान गरिनेछ।
तेस्रो दिन साउन २५ गते बिहान ८ बजेदेखि १ बजेसम्म पञ्चकन्या–४ को ठकुरी टोलमा शिविर सञ्चालन हुनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म थप्रेक स्वास्थ्य चौकी, पञ्चकन्या–४, मा सेवा दिइने जनाइएको छ।
गाउँपालिकाले शिविरमा उपस्थित भई राष्ट्रिय परिचयपत्र बनाउन छुट भएका सबै नागरिकलाई समयमै सेवा लिन अनुरोध गरेको छ। सूचना गाउँपालिकाका प्रमुख प्रशासनिक अधिकृत हिराचन राईद्वारा प्रकाशित गरिएको हो।


