भद्रुटारको दुप्चेश्वर मन्दिरमा डुङ्गा खोपेर बनाइयो आकर्षक शिवको मुर्ति
नुवाकोट, साउन १४— पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित बुढिसेरा क्षेत्रको दुप्चेश्वर मन्दिर परिसरमा ढुङ्गा खोपेर तयार गरिएको आकर्षक शिवको मुर्ति स्थापना गरिएको छ।
वडा नम्बर ५ का अध्यक्ष माधव सिटौलाका अनुसार उक्त शिव मुर्ति हेटौंडाका प्रसिद्ध कालिगडको समूहले निर्माण गरेका हुन्। झन्डै एक महिनाको मेहनतपछि ढुङ्गा खोपेर बनाइएको यो कलात्मक मुर्ति स्थानीय स्तरमा धार्मिक तथा पर्यटकीय आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ। शिव मुर्ति निर्माणका लागि वडाले झण्डै ५ लाख रुपैयाँ खर्च गरिएको जनाइएको छ।
नुवाकोटको दोस्रो दुप्चेश्वर धामको रुपमा चिनिने यो स्थान प्राकृतिक तथा धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ बडेमानको ढुङ्गाबाट निरन्तर पानी झरिरहने तथा गाईको खुरजस्तो डोब अंकित ढुङ्गा रहेको छ, जुन रहस्यमय मानिन्छ।
हरेक वर्ष मकर संक्रान्तिको अघिल्लो दिन यहाँ भव्य मेला लाग्ने गर्छ। मेलामा स्थानीय धामी–झाँक्रीले झाँक्री नाच प्रस्तुत गर्ने, भजन–कीर्तन र लोकदोहोरी कार्यक्रमहरू समेत आयोजना हुने गर्दछन्, जसले धार्मिक र सांस्कृतिक विविधतालाई झल्काउने काम गर्दछ।

