गाउँघरमै स्वास्थ्य सेवा: शिवपुरी-४ मा एकीकृत गाउँघर क्लिनिक कार्यक्रम



नुवाकोट,साउन १५ । वर्षा झरिरहे पनि, सेवामा कुनै रोकावट छैन। शिवपुरी गाउँपालिका वडा नम्बर ४ ले स्थानीय जनताको घरदैलोमै पुगेर सेवा दिने उद्देश्यले संचालन गर्दै आएको गाउँघर क्लिनिक कार्यक्रम यस वर्षको पहिलो महिनामा पनि सफलतापूर्वक सम्पन्न भएको छ।

यही साउन ११ देखि १४ गतेसम्म वडाका विभिन्न स्थानमा पुगेर नियमित स्वास्थ्य परीक्षण, औषधि वितरण र आवश्यक परामर्श प्रदान गरिएको थियो। यो कार्यक्रम एकीकृत सेवा अभियान अन्तर्गत सञ्चालित हुँदै आएको छ, जसमा जनस्वास्थ्य, पशु स्वास्थ्य, कृषि र प्रशासनिक सेवा एउटै थलोबाट प्रदान गरिन्छ।

गाउँघर क्लिनिक कार्यक्रम अघिल्लो आर्थिक वर्षदेखि प्रत्येक महिनाको ११ देखि १४ गतेसम्म नियमितरूपमा सञ्चालन हुँदै आएको छ। शिवपुरी–४ का जनप्रतिनिधि र कर्मचारीहरू वर्षा, गर्मी वा चिसोको पर्वाह नगरी गाउँसम्म पुगेर सेवा पुर्‍याउने प्रतिबद्धतासहित यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

स्थानीयवासीहरूले यस कार्यक्रमलाई निकै सकारात्मक रूपमा लिएका छन्। एकातिर गाउँघरनजिकै सुगर, प्रेसर मापनजस्ता स्वास्थ्य परीक्षण नियमित हुने बानी बस्न थालेको छ भने अर्कोतर्फ पशु र कृषि सेवा लिन आउनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। नाम्ले, जुका जस्ता पशु समस्यादेखि कृषि अन्तर्गत लाग्ने किरा नियन्त्रण, विषादी र औषधि व्यवस्थापनसम्मका सेवा पाउँदा स्थानीयवासी हर्षित भएका छन्।

गाउँघर क्लिनिकका एक कर्मचारी भन्छन्, “पहिले नागरिक वडा कार्यालय आउँथे, अब हामी उनीहरूको घरदैलोमै सेवा लिएर जान्छौं।” यस्तो सेवा पहुँचले केवल नागरिकको समय मात्र बचाउदैन सेवा प्रति उनीहरूको विश्वास पनि बढाइरहेको छ।

स्थानीय तहको जिम्मेवारी र सेवा प्रवाहको उत्कृष्ट उदाहरणका रूपमा शिवपुरी–४ को यो एकीकृत गाउँघर क्लिनिकलाई लिन सकिन्छ । यस कार्यक्रमले स्वास्थ्य, कृषि र पशुपालनजस्ता आधारभूत आवश्यकतालाई सहज तरिकाले सम्बोधन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्