रेशम चौधरी पक्षद्वारा रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष पदबाट पदमुक्त
काठमाडौं, साउन १५ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको छ।
पार्टी संरक्षक समेत रहेका रेशम चौधरीको नेतृत्वमा बसेको केन्द्रीय समिति बैठकले बहुमतले निर्णय गर्दै श्रेष्ठलाई अध्यक्ष पदबाट पदमुक्त गरेको हो। पार्टी सदस्यता नै नपाउने भन्दै रेशमलाई सर्वोच्च अदालतमा अयोग्य ठहर गराउने लिखित जवाफ दिएपछि श्रेष्ठविरुद्धको असन्तुष्टि झनै चुलिएको थियो।
सर्वोच्च अदालतमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठले पेस गरेको लिखित जवाफमा भनिएको थियो, “जन्मकैदको सजाय भोगिरहेको व्यक्तिलाई दलको सदस्यता प्रदान हुने अवस्था थिएन र छैन।” उनले पार्टीको प्रथम महाधिवेशनमा रेशमले भाग लिन नपाउने र सदस्यता लिनसमेत अयोग्य रहेको उल्लेख गरेकी थिइन्।
यही अभिव्यक्तिलाई आधार बनाउँदै रेशम पक्षले उनीमाथि विश्वास गुमाएको जनाउँदै साउन १४ गते बोलाइएको राष्ट्रिय भेलाबाट श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय पारित गरिएको हो। सो निर्णयमा केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरूको सहभागिता रहेको थियो।
२०७८ पुस १९ गते रेशम चौधरीले जेलभित्रैबाट पार्टी दर्ता गर्दा रञ्जितालाई अध्यक्ष बनाइएको थियो। तर पछिल्लो समय घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठ विवादमा तानिएकी थिइन्।
श्रेष्ठले मंगलबार मात्रै पार्टीका वरिष्ठ नेतालाई कार्यवाहक अध्यक्ष तोकेर आफू ‘बाहिरै’ रहने बताएकी थिइन्। तर त्यसको भोलिपल्टै पार्टीबाटै औपचारिकरूपमा हटाइएकी हुन्।
निर्वाचन आयोगले भने २०८० पुसमा भएको महाधिवेशनबाट अध्यक्ष बनेका रेशम चौधरीको दाबी अस्वीकार गर्दै निर्णय गरिसकेको छ। यद्यपि चौधरी पक्षले त्यसविरुद्ध अदालतको बाटो समात्दै संगठन पुनर्गठनको प्रक्रिया अघि बढाएको छ।

