रास्वपा बैठकः जनताका मुद्दा स्थापित गराउन सफल भएको निष्कर्ष



रुपन्देही,साउन १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा संसदीय दलको बैठक बसेर विभिन्न निर्णय गरेको छ ।संसदमा भिजिट भिषा प्रकरण र त्योसँग सम्बन्धित बेतिथि विरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

भ्रष्टचारविरुद्धको आन्दोलन फराकिलो बनाउँदै सडक र सदन दुवैबाट गर्ने निर्णय समेत भएको परियारले बताए । यसका आयाम र रुपहरु परिवर्तन हुन सक्छन्, जुन नेपाली जनताको मुद्दा हो, सदन र सबैतिर उठाउने निर्णय भएको उनले बताए ।

संसद्को चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको काम कारबाहीलगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका प्रमुख सचेतक परियारले जानकारी दिए ।

उनले संसद्मा नेपाली जनताको मुद्दा स्थापित गराउन पार्टी सफल रहेको बैठकको ठम्याइ रहेको बताए । उनका अनुसार रास्वपा निजामति विधेयक, भ्रष्टाचारका मुद्दा, मालपोत प्रकरण लगायतका विषय अझै आन्दोलमै रहेको छ ।

रास्वपाले गरिरहेको हस्ताक्षर अभियानमा अहिले केन्द्रिय नेता तथा सांसदहरू भैरहवामा गएर अभियानमा सहभागी हुन आएको परियारले बताए । उनले भैरहवा विमानस्थल सञ्चालनदेखि लुम्बिनीका पर्यटन व्यवसायीको मुद्दाप्रति रास्वपा गम्भीर रहेको र यसबारे संसद्मा कुरा उठाउने आश्वासन दिए ।

भैरहवामा भएको बैठकमा भने आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनको विषयमा भने कुनै छलफल नभएको उनको भनाइ थियो । उनले भने, “हामीले उम्मेदवारीको लागि आह्वान गरेका छौँ, यो पार्टीको विषय भएकाले रुपन्देही ३ मा हुन गइरहेको उपनिर्वाचनको विषयमा संसदीय दलको बैठकमा छलफल भएन ।”

उनले अबको आन्दोलनलाई अझ फराकिलो दायरामा गर्ने बताउँदै भ्रष्टाचारको विरोध सडक र सदनबाट गर्ने जिकिर गरे । उनले तत्कालकै लागि पार्टीको संसदीय दलको नेता परिवर्तन नगर्ने सङ्केत पनि गरे । सभापति रवि लामिछाने दोषी ठहर नभएकाले बैठकमा यस विषयमा कुनै छलफल नभएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्