सांसद हितबहादुर र राधिकाद्वारा दुप्चेश्वर–समुन्द्रटार सडक क्षेत्रको क्षति निरीक्षण



नुवाकोट, साउन १५ – संघीय संसद प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ र बागमती प्रदेश सभा सदस्य राधिका तामाङले नुवाकोटको दुप्चेश्वर–समुन्द्रटार–गोल्फुभन्ज्याङ सडक खण्डमा पहिरो र प्राकृतिक प्रकोपले पु¥याएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् ।

दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर थापा, नेकपा माओवादी केन्द्र दुप्चेश्वर गाउँपालिका कमिटी ईन्चार्ज लालबहादुर तामाङ, पार्टी अध्यक्ष कमल खतिवडा, वडा अध्यक्षहरु लगायत जनप्रतिनिधिहरूको सहभागितामा निरीक्षण टोलीले कल्लेरी गाउँस्थित बस्ती, चालिसे बगरस्थित सहिद स्मृति पार्क, चन्द्रमती खोलामा निर्माणाधीन पक्की पुल लगायत क्षतिग्रस्त स्थानहरूको अवलोकन गरेको हो।

सांसदद्वय तामाङले नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला प्रहरी कार्यालय प्रमुखलगायत सुरक्षाकर्मीहरूसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रियता बढाउन आग्रह गरेका छन् । साथै आगामी दिनमा यस्ता विपद्को पूर्वतयारीका लागि स्थानीय निकाय, प्रशासन र सुरक्षानिकायलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

स्थानीय बासिन्दाले अविरल वर्षासँगै पहिरोका कारण आवतजावतमा समस्या परेको भन्दै तत्काल सडक मर्मत र जोखिम न्यूनीकरणको माग गरेका छन्। निरीक्षण टोलीले जनताका समस्या प्रति गम्भीर ध्यान दिने प्रतिबद्धता जनाएका छन्। दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३, कल्लेरीमा हालैको वर्षाका कारण गएको पहिरोले २० घर उच्च जोखिममा परेको छ।

प्रतिक्रिया दिनुहोस्