बट्टार टोल सुधार संस्थामार्फत नवनिर्मित भवन उद्घाटन
नुवाकोट, साउन १५ – विदुर नगरपालिका वडा नं. ४ स्थित पुरानो पाटी क्षेत्र नजिकै निर्माण गरिएको करीब ७० लाख रुपैयाँ लागतको भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
‘बट्टार टोल सुधार संस्था’को पहलमा निर्माण सम्पन्न भएको सो भवनको उद्घाटन विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रम संस्थाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ४ का अध्यक्ष निलमबाबु ढुङ्गेल, पूर्व वडाध्यक्ष टलकमान श्रेष्ठसहित विभिन्न सरोकारवाला, स्थानीय समाजसेवी तथा बासिन्दाहरूको उपस्थिति रहेको थियो।
करिब ७० लाख रुपैयाँ बराबरको लागतमा सम्पन्न उक्त भवन सामुदायिक विकास र स्थानीय गतिविधिको केन्द्र बन्ने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा वक्ताहरूले यस्ता पूर्वाधारले समुदायबीच आपसी सद्भाव, सेवा प्रवाह र समुन्नत बस्ती निर्माणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
उक्त संरचना बट्टार टोल सुधार संस्थाको समन्वयमा स्थानीय सहयोग, नगरपालिकाको सहकार्य र विभिन्न दातृ निकायको सहभागिताबाट निर्माण गरिएको हो।

