नुवाकोटको लौके झरनामा आएको बाढीमा फसेका चार जनाको सकुशल उद्धार



नुवाकोट, साउन १५ – नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित प्रसिद्ध लौके झरनामा घुम्न गएका चार जना पर्यटक अचानक खोलामा आएको बाढीका कारण खोला पारी फसेपछि प्रहरीले उद्धार गरेको छ ।

बिहीबार साँझ करिब ६ बजे ती पर्यटकहरू फसेको खबर प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासन तत्कालै सक्रिय बनेको थियोे । प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको कमान्डमा १० सदस्यीय प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो।

त्यसैगरी, अस्थायी प्रहरी पोष्ट छहरेबाट प्रहरी निरीक्षक राजबाबु सिंह राजपुतको नेतृत्वमा थप ३ जनाको टोली परिचालन गरिएको थियोे ।स्थानीय युवाहरू जनक थपलिया, प्रविण थपलिया, बिष्णु रिजाल लगायतले समेत उद्धारमा सहयोग पुर्याएका थिए । करिब ४५ मिनेटको प्रयासपछि, साँझ ६:४५ बजेसम्ममा चारै जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

उद्धार गरिएका मध्ये एक काठमाडौं सातदोबाटो निवासी लक्ष्मी शिंखडा रहेको खुलेको छ। अन्य तीन जना अनिश नेपाली, कृष्ण नेपाली र राजेश नेपाली नुवाकोटकै विभिन्न स्थानका हुन्। उनीहरू झरनाको मनोरम दृश्य हेर्न गएका बेला अचानक बाढी आउँदा खोलातर्फ फर्कन नसक्ने अवस्थामा पुगेका थिए।

प्रहरीको तिव्र प्रतिक्रिया र समन्वयले सम्भावित जोखिम टार्न सफल भएको हो। प्रशासनले हालैको अविरल वर्षाका कारण खोलानाला आसपास सतर्कता अपनाउन सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्