दुप्चेश्वर धाममा लघुरुद्राभिषेक महापूजा हुँदै
नुवाकोट, साउन १५ – पवित्र श्रावण महिनाको अवसरमा नुवाकोटस्थित दुप्चेश्वर महादेव धाम परिसरमा लघुरुद्राभिषेक महापूजा आयोजना गरिने भएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषको आयोजनामा यही साउन १८ गते आइतबार बिहान ७:३० बजेबाट श्रद्धापूर्वक कार्यक्रम शुरु गरिने कोषले जनाएको छ।
भगवान शिवको आराधनामा समर्पित यस लघुरुद्राभिषेक पूजामा शिवलिङ्गमा जल, दूध, चन्दन र बेलपत्र अर्पण गरी राष्ट्रिय शान्ति, समृद्धि तथा जनकल्याणको कामनासहित पूजाआजा गरिने कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले बताए। ‘शिवको कृपा, शान्तिको सन्देश’ भन्ने मूल नारासहित आयोजना हुन लागेको पूजामा सहभागी भई पुण्य संकलन गर्न सम्पूर्ण श्रद्धालु भक्तजनलाई आयोजकले आमन्त्रण गरेको छ।
दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार सृष्टिको सुरुवात, पालन र संहारका प्रतीक शिवको महिमा र शक्ति अनुभव गर्दै समाजमा सकारात्मक ऊर्जा प्रवाह गराउने उद्देश्यले पूजाको आयोजना गरिएको हो।
कार्यक्रममा सहभागिता जनाई प्रसाद ग्रहण गर्न सबै श्रद्धालुहरूलाई कोषले हार्दिक निमन्त्रणा गरेको छ।

