पहिलो पटक ‘राष्ट्रिय कोदो दिवस’ मनाइँदै
काठमाडौं, साउन १६ – कोदोजन्य बालीको संरक्षण, उत्पादन वृद्धि र आयातमा नियन्त्रण गर्ने उद्देश्यले सरकारको पहलमा आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइँदैछ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ दिवस मनाउने तयारी कृषि विभागले गरेको हो।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा गठन भएको मूल आयोजक समितिको संयोजनमा विविध कार्यक्रम आयोजना हुँदैछन्। विभागका अनुसार कोदोजस्ता स्थानीय अन्नबालीले साना किसानको आम्दानी वृद्धिका साथै खाद्य तथा पोषण सुरक्षामा योगदान दिने भएकाले यस दिवसको महत्व विशेष रहेको छ।
महानिर्देशक सञ्जेलका अनुसार कोदो उत्पादनमा रासायनिक मल र विषादी प्रयोग नगरी पनि राम्रो उत्पादन लिन सकिने भएकाले कोदो खेतीले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन न्यूनीकरणमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
दिवसको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा विशेष कार्यक्रमको आयोजना गरिनेछ। कार्यक्रममा कोदो रोपाइँ, कृषक सम्मान, पत्रकार तथा राष्ट्रिय कृषक समूह महासङ्घका प्रतिनिधिहरूलाई पुरस्कार तथा कदरपत्र वितरण गरिने विभागले जनाएको छ।
यसैबीच, देशका विभिन्न प्रदेश र स्थानीय तहहरूमा समेत कोदो दिवसको सन्दर्भमा विविध कार्यक्रमहरु आयोजना गरिने जनाइएको छ।
कृषि विभागको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१/८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन बराबरको कोदोजन्य उत्पादन आयात भएको थियो, जसको मूल्य ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

