प्रधानाध्यापक परिवर्तनको विरोधमा विद्यार्थीद्वारा विद्यालय बन्द
हुम्ला, साउन १६ – हुम्ला जिल्लाको मध्य क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिका–४ स्थित हिमज्योती माध्यामिक विद्यालयमा नयाँ प्रधानाध्यापकको नियुक्तिपछि उत्पन्न विवादले विद्यालय बन्द भएको छ। विद्यालय व्यवस्थापन समितिको निर्णयविरुद्ध नाराबाजी गर्दै विद्यार्थीहरुले पठनपाठन अवरुद्ध गरेका हुन्।
बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले यसअघि प्रधानाध्यापक रहेका सुरेश थापालाई पदमुक्त गरी कल्पना बुढा (रोकाया) लाई नयाँ प्रधानाध्यापकमा नियुक्त गरेपछि विद्यार्थीहरुले असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेका हुन्।
कक्षा १० का छात्र धनबहादुर शाहीका अनुसार, विगत १०–११ वर्षदेखि विद्यालयमा अध्यापन गराइरहेका शिक्षक थापालाई प्रधानाध्यापकबाट हटाइनु अन्यायपूर्ण भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। “बिना गल्ती थापालाई हटाउने निर्णय अनुचित छ, हामीले उनलाई पुनः प्रधानाध्यापक नबनाएसम्म कक्षा नपढ्ने निर्णय गरेका छौं,” उनले बताए।
प्रदर्शनकारी विद्यार्थीहरुको भनाइ अनुसार, प्रधानाध्यापक सुरेश थापाले विद्यालयको शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पु¥याएका थिए र स्थानीय विद्यार्थीहरुमाझ लोकप्रियता पनि कमाएका छन्।
हालै नियुक्त भएकी प्रधानाध्यापक कल्पना रोकाया यसअघि सर्केगाड गाउँपालिका–७ कोट माध्यमिक विद्यालयमा कार्यरत थिइन्। गत जेठमा सरुवा भएर आएकी रोकाया हुम्ला जिल्लाकै एकमात्र महिला माध्यमिक तहकी स्थायी शिक्षक हुन्।
विद्यालय व्यवस्थापन समितिको निर्णयपछि उत्पन्न विवाद समाधान गर्न कुनै पहल नहुँदा विद्यालयको पठनपाठन ठप्प भएको हो। यस विषयमा स्थानीय तह, अभिभावक र सरोकारवाला निकायले चाँडो पहल नगरे अनिश्चितकालीन पठनपाठन अवरुद्ध हुने चेतावनी विद्यार्थीहरुले दिएका छन्।

