चौंरी खर्क संकटमा: मौलिक चरन प्रणाली जोगाउने चुनौती
मनाङ,साउन १६ । नेपालका उच्च हिमाली क्षेत्रका परम्परागत चरन क्षेत्र ‘चौंरी खर्क’ जलवायु परिवर्तन, जनशक्ति पलायन र प्रविधिको अभावका कारण संकटमा परेका छन्। गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा पाइने खर्कहरू हजारौं परिवारको जीविकोपार्जनको स्रोत हुन्।
खर्कमा पालिने चौंरीबाट घ्यू, दही, छुर्पी, पनिरजस्ता उत्पादन हुँदै आर्थिक तथा सांस्कृतिक पहिचान जोगिदै आएको छ। नेपालभर करिब ३५ हजार खर्कमध्ये १० हजार सक्रिय छन् भने हाल करिब ८० हजार चौंरी रहेको अनुमान छ।
चौंरी खर्कहरू जैविक विविधता, पर्यटन र जडीबुटी संरक्षणमा समेत योगदान पुर्याउँदै आएका छन्। तर, व्यवस्थापनको अभाव, खर्कको अतिक्रमण र पशुपालनमा घट्दो रुचिका कारण यी मौलिक चरन प्रणाली संकटमा परेका छन्। संरक्षण र पुनःजीवन्त बनाउन राज्य र समुदायको समन्वय आवश्यक देखिन्छ।

