रैथाने बाली संरक्षणमा मकवानपुरगढी र भीमफेदी गाउँपालिकाको अग्रसरता
मकवानपुर,साउन १६ । मकवानपुरगढी र भीमफेदी गाउँपालिकाले रैथाने बालीहरूको संरक्षण र प्रवर्द्धनमा सक्रियता बढाउँदै कोदो, फापर, कागुनोजस्ता बालीलाई व्यवस्थित उत्पादन र बजार व्यवस्थापनमा जोड दिएका छन्।
मकवानपुरगढीमा ब्रान्डिङ र नवप्रयोग मकवानपुरगढी गाउँपालिकाले कोदोबाट उत्पादित ‘कालिखोला’ ब्रान्डको पिठो बजारमा ल्याइसकेको छ। अब फापर र कागुनो पनि ब्रान्डिङ गरी बजारमा लैजाने तयारी भइरहेको छ। विद्यालयमा हप्तामा एक दिन रैथाने खाजाको व्यवस्था गरिएको छ भने कोदोबाट वाइन बनाउनसमेत अध्ययन भइरहेको छ।
गएको आर्थिक वर्षमा ७५० हेक्टरमा कोदो खेती भई १,२५० मेट्रिक टन उत्पादन भएको थियो। पालिकाले किसानलाई न्यूनतम समर्थन मूल्य, बीउ वितरण, तालिम र सहकारीसँग सहकार्यजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ।
भीमफेदीको समर्थन मूल्य र प्रोत्साहन भीमफेदी गाउँपालिकाले कोदोको न्यूनतम मूल्य ५५ रुपैयाँ प्रतिकेजी निर्धारण गरेको छ। गत वर्ष ३५ लाख विनियोजन गरी ४२४ किसानलाई प्रोत्साहन स्वरूप २,५०० देखि २७,००० रुपैयाँसम्म वितरण गरिएको थियो। चालू वर्षमा बजेट बढाएर ३७ लाख पुर्याइएको छ।
२२५ हेक्टरमा खेती गरी ५०९ मेट्रिक टन कोदो उत्पादन भएको तथ्याङ्क छ। अध्यक्ष हिदम लामाले मकैमा गिरावट आएपछि कोदोले खाद्यान्न संकट टार्न मद्दत गरेको बताए।
जिल्लास्तरीय स्थिति कृषि विकास कार्यालय चितवनका अनुसार मकवानपुर जिल्लामा ६,६०० हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको छ। कैलाश गाउँपालिकामा सबैभन्दा धेरै २,१७५ हेक्टर र मनहरीमा सबैभन्दा कम ६ हेक्टरमा खेती हुन्छ। अघिल्लो वर्ष ८,८७८ मेट्रिक टन कोदो उत्पादन भएको थियो। मुख्यतः डल्ले र ओख्ले प्रजातिको कोदो खेती गरिन्छ।

