नुवाकोटमा करेन्ट लागेर चार वर्षीया बालिकाको मृत्यु
नुवाकोट,साउन १६— नुवाकोटको बेलकोटगढी नगरपालिका–१०, धमलेमा करेन्ट लागेर एक चार वर्षीया बालिकाको ज्यान गएको छ।
बिहीबार बिहान करिब १०:३० बजे शिब अधिकारीको घरमा रेखदेख तथा खेतीपाती गर्न बसेका विजय राना मगरकी छोरी आँचल राना मगर (४ वर्ष) घरभित्र खेल्ने क्रममा मोबाइल चार्ज गर्ने विद्युत प्लगमा छोएपछि गम्भीर घाइते भएकी थिइन्।
घटनापछि तत्कालै उनलाई उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट लगिएको थियो। तर उपचारकै क्रममा दिउँसो करिब २:१० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घटनास्थलमा प्रहरी अधिकृतसहितको टोली खटिएको थियो। प्रहरीले लास परीक्षण (पोस्टमार्टम) तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

