दुप्चेश्वरमा पहिलो स्थानीय कोदो दिवस सम्पन्न, कोदो उत्पादन वृद्धि र संरक्षणमा जोड
नुवाकोट,साउन १६ — “कृषि, संस्कृति, पर्यटन र पूर्वाधार, सन्तुलित विकास दुप्चेश्वरको आधार” भन्ने नारासहित दुप्चेश्वर गाउँपालिका–३, हुङमा प्रथम स्थानीय कोदो दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
“कोदोजन्य परिकारको आहार, खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार” भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा कोदो उत्पादनको घट्दो अवस्था र यसको वढ्दो महत्वबारे विशेष छलफल भएको थियो।
कार्यक्रममा दुप्चेश्वर गाउँपालिका, राष्ट्रिय जिन बैङ्क खुमलटार, कृषि विकास कार्यालय विदुर, तथा अन्य सरोकार निकायको सहकार्यमा कोदोको संरक्षण, प्रवर्द्धन र व्यवसायिक सम्भावनाबारे विभिन्न प्रस्तुति दिइयो।
वक्ताहरूले स्थानीय रैथाने बालीको संरक्षण गर्दै कोदोबाट तयार पारिने परिकारलाई पर्यटनसँग जोडेर विकास गर्न सकिने धारणा राखे। साथै, कोदो उत्पादन वृद्धि गर्न आधुनिक प्रविधि, बीउ संरक्षण र बजार विस्तारमा जोड दिनुपर्ने आवश्यकता औंल्याइएको थियो। कार्यक्रममा स्थानीय किसान, कृषि विज्ञ, पालिका प्रतिनिधि, र सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

