चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार सुरू
चितवन, साउन १६ – बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म ६२ किमी लम्बाइको पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरू गरिएको छ। नेपाल आयल निगमले लोथरमा फिल्ड कार्यालय स्थापना गरी दोस्रो चरणको पाइपलाइन परियोजना प्रारम्भ गरेको हो।
राप्ती नगरपालिका–१ लोथरमा अत्याधुनिक सुविधासहितको टर्मिनल निर्माण गरिनेछ, जसमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन भण्डारणका लागि ठूला ट्याङ्की निर्माण गरिनेछ। परियोजनाबाट प्रति घण्टा २७३ किलोलिटर इन्धन आपूर्ति र ३२ सय किलोलिटर भण्डारण क्षमता हुनेछ।
१४ अर्बभन्दा बढी लागतको यस परियोजना ५४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। परियोजनाले इन्धन ढुवानीको खर्च घटाउने, चोरी नियन्त्रण गर्ने र रोजगारी सिर्जनामा टेवा पुगाउने विश्वास गरिएको छ।

