साततले दरबार पुनर्निर्माणका लागि भत्काउन थालियो
नुवाकोट, साउन १६ – २०७२ सालको विनाशकारी ‘गोरखा भूकम्प’ले क्षति पुर्याएको ऐतिहासिक साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ। चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिने यो दरबारको अघिल्लो तयारीस्वरूप प्राविधिक कार्य सम्पन्न भएपछि संरचना हटाउने काम अघि बढाइएको हो।
पुरातत्व विभाग अन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेका अनुसार दरबारको छाना (झिङ्गटी) हटाइसकिएको छ र अहिले माथिल्लो तला हटाउने कार्य चलिरहेको छ।
“सांस्कृतिक सम्पदाको संवेदनशीलता ख्याल गर्दै नेपाली प्राविधिक टोलीको निगरानीमा संरचना हटाउने काम भइरहेको छ,” प्रमुख पाण्डेले बताए। “दरबारमा प्रयोग भएका झिङ्गटी, झ्याल, बुर्जा, बार्दलीजस्ता सामग्री संरक्षणको व्यवस्था मिलाइएको छ,” उनले थपे।
नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा नुवाकोट विजयपछि निर्माण गर्न थालिएको यो दरबार ऐतिहासिक महत्वको हो। भूकम्पपछि दरबार पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो। अब यसलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने बताइएको छ।

