‘विपद् पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउन जरुरी छ’
काठमाडौं,साउन १७ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई भरपर्दो, व्यवस्थित तथा सर्वसुलभ बनाउन आवश्यक रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित ‘गृहमन्त्रीसँग विपद्’ संवादमा उनले समयमा पूर्व सूचना दिन सकेमा विपद्बाट हुने धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताए ।
“विपद् प्रतिकार्यका लागि हामीले काम गरिरहेका छौँ । अझै सबैको सहकार्यमा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक छ,” उनले भने, “अब विपद्को समयमा सर्वसाधारणलाई मोबाइलमा एसएमएस मात्र होइन, फोन नै गरेर पूर्व सूचना दिन जरुरी छ ।”
नेपालमा जुनसुकै समयमा पनि बहुप्रकोपीय जोखिम रहने भएकाले सोअनुसार आवश्यक तयारी थाल्नुपर्ने मन्त्री लेखकको जोड रहेको छ । मित्र राष्ट्रमा देखिएको हिमतालको जोखिमका कारण पनि नेपाललाई असर परिरहेकाले सूचना आदान–प्रदानलाई प्रभावकारी बनाउन जरुरी रहेको मन्त्री लेखकको भनाइ छ ।
“नीतिगत तथा कानुनी सुधार गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रमलाई प्रभावकारी बनाउने हाम्रो योजना रहेको छ, अन्य संस्थागत सुधार गर्ने तयारीसमेत गरिरहेका छौँ,” मन्त्री लेखकले भने ।
विपद्को समयमा उद्धारलाई अझ बढी प्रभावकारी बनाउन निजी क्षेत्रसँग पनि सहकार्य भइरहेको उनको भनाइ छ ।

