धनकुटामा चार दशकपछि बेठी परम्पराको पुनरागमन
हिले,साउन १७ । धनकुटाको महालक्ष्मी नगरपालिका–२ का यत्नबहादुर कटुवालले बेठी परम्परा पुनः सुरु गर्दै आफ्नो २५ रोपनी खेतमा एकै दिन धान रोपाइँ गरेका छन्। लोप हुँदै गएको बेठी प्रथाले गाउँमा उत्साह ल्याएको छ। गाउँलेहरू गोरु, रोपाहार, बाउसेसहित भेला भएर नौमती बाजा र असारे भाकासँगै रोपाइँमा सहभागि भए।
गत चार दशकदेखि हराउँदै गएको बेठी परम्परा यस वर्ष कटुवालसहित स्थानीय पदम श्रेष्ठ र खोजबहादुर श्रेष्ठले पुनः सुरु गरेका हुन्। बेठीका कारण श्रम अभावको समस्या समाधान हुनुका साथै गाउँमा सामूहिकता र परम्परा जोगिने विश्वास गरिएको छ।
पहिले ज्याला र सुविधाको मागसँगै बेठी हराएको थियो। तर, अहिलेका किसानहरूले परम्परागत कृषि संस्कृति जोगाउन र जग्गा बाँझिन नदिन पुनः बेठी परम्परा सुरु गरेका हुन्।

