छ वटा पक्की पुल निर्माण गरिँदै



हुम्ला,साउन १७ । कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि सदरमुकाम सिमकोटसम्मको ५० किलोमिटर दुरीमा छ वटा नयाँ पक्की पुल निर्माण गरिने भएको छ । खोलाहरूको दूरी लामो भएका कारण कलभर्टले काम गर्न नसक्ने निष्कर्ष निकाल्दै पक्की पुल निर्माण गर्न लागिएको हो । 

कर्णाली कोरिडोरको सर्केगाड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लादेखि सिमकोट गाउँपालिका–४, स्याम्नेसम्मको ५० किलोमिटर दुरीमा छ वटा नयाँ पक्की पुल निर्माण गर्न लागिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए । हिउँदमा पानी कमै हुने भए पनि यी खोलामा बर्खामा भने पानी बढ्ने गर्छ । प्रमुख नेपालीका अनुसार निर्माण गर्न लागिएका पुलमा सिमकोट गाउँपालिका–४, स्याम्नेखोला, खार्पुनाथ गाउँपालिका–५, याङ्चुखोला र १ को चिसामुलखोला छन् । त्यसै गरी सर्केगाड गाउँपालिका–६, ठेहीखोला, ४ को कोगोठीखोला र ६ को गिउसीखोला छन् । 

यी खोलामा पक्की पुल निर्माणका लागि योजना तयारी भइरहेको उनले बताए । यसका लागि बजेटको समेत व्यवस्था भइसकेको छ । 

लागत स्टिमेट तयार भइसकेपछि त्यसलाई स्वीकृत गर्न विभागमा पठाइने र त्यसपछि निर्माण अगाडि बढाइने उनले बताए । यी पुल ५० देखि एक सय मिटर लम्बाइका छन् । लागत स्टिमेट तयारीपछि भने ती पुलको लागत यकिन हुने छ ।   

प्रतिक्रिया दिनुहोस्